हरिहरपुरगढीको क्यानेश्वरमा दुई दिने एकीकृत जनस्वास्थ्य शिविर सुरु


हरिहरपुरगढी गाउँपालिकाको ग्रामीण क्षेत्रमा एकीकृत जनस्वास्थ्य शिविर आजबाट सुरु भएको छ । वडा नम्बर ६, ७ र ८ का नागरिकलाई मध्यनजर गर्दै क्यानेश्वर स्वास्थ्य चौकीमा दुई दिने एकीकृत जनस्वास्थ्य शिविर तथा पोषण प्रवद्र्धन अभियान सुरु भएको हो ।
गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको अध्यक्षतामा शुक्रबार आयोजित एक औपचारिक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले शिविरको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सांसद दाहालले पछिल्लो समयमा मानिस क्यान्सरबाट बढी पीडित हुने गरेको बताउनुभयो । क्यान्सर रोगको उपचार खर्च सामान्य नागरिकले धान्न नसक्ने भएकोले प्रतिनिधिसभाको बैठकमा बारम्बार विपन्न अस्पतालको आवश्यक रहेको कुरा उठाइएको उहाँले बताउनुभयो ।
“सहरका सरकारी अस्पतालमा गरिबको पहुँच हुँदैन । त्यही भएर भर्ना, आइसियु, भेण्टिलेटर जस्ता सुविधा पाइँदैन, अप्रेसन समयमा हुँदैन । सम्पन्नको निम्ति सरकारी अस्पतालजस्तो भएको छ । त्यसैले विपन्न नागरिक अस्पतालको खाँचो छ भनेर मैले कुरा उठाउने गरेको छु,’ सांसद दाहालले भन्नुभयो ।
गरिब परिचयपत्रको आधारमा नागरिकले स्वास्थ्य सेवा पाउनुपर्ने उहाँको भनाइ छ । दाहालले समयमै रोगको पहिचान हुन सकेमा उपचारबाट सहजै निको हुने भएकाले हरिहरपुरगढी गाउँपालिकाको ग्रामीण क्षेत्र मानिने क्यानेश्वरमा शिविर आयोजना गर्नु अति सान्दर्भिक रहेको भनाई राख्नुभयो ।
उहाँले शिविर सञ्चालन गरी विशेषज्ञ चिकित्सकलाई ग्रामीण क्षेत्रका नागरिकलाई भेटाएर जनतालाई चेकजाँचको अवसर प्रदान गरेकोमा आयोजक र सहकार्य गर्ने कार्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले शिविरभित्रै विशेषज्ञ डाक्टरहरुद्वारा शिविरमा जनरल मेडिसिन, बालरोग, स्त्री तथा प्रसूतिरोग, दन्त सेवा, आँखा, नाक, कान, घाँटीलगायतको परीक्षण गर्ने बताउनुभयो । साथै क्षयरोगका शंकास्पद व्यक्तिहरुको खकार जाँच, नसर्ने रोगको स्क्रिनिङ, प्रयोगशाला सेवा, युएसजी, निःशुल्क औषधि वितरण तथा स्वास्थ्य जीवन परामर्श सेवासमेत शिविरमा प्रदान गरिने बताउनुभयो ।

1000022813


उहाँले गाउँपालिकाको कार्यालय तथा स्वास्थ्य चौकीको निरीक्षण पश्चात् संघियताको नमूना हेर्न हरिहरपुरगढी गाउँपालिका जानुपर्छ भन्ने उदाहरणसमेत दिनुभएको छ ।
गाउँपालिकाका अध्यक्ष वाइबाले स्वास्थ्य शिविरमार्फत विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित बिरामीहरूलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख खगेन्द्रप्रसाद यादवले शिविरबाट बिरामीमा पत्ता लागेको जटिल प्रकृतिको रोगको उपचारका लागि गाउँपालिकाको समन्वयमा अन्य अपतालमा पठाउने व्यवस्था रहेको बताउनुभयो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका दिपकराज तिमल्सिनाले आयुर्वेद सेवाहरु ओपिडी सेवा, फिजियोथेरापी, अकुपञ्चर, ज्येष्ठ नागरिक सेवा, स्तनपायी आमाहरुलाई औषधि वितरणलगायतका सेवा प्रदान गरिने जानकारी दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकराले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो । शिविरको पहिलो दिन आज ३७५ जना नागरिकले विभिन्न सेवा लिएको जानकारी दिइएको छ ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: