सबै निकायबाट बेवास्ता भएपछि हामीले नै सडक खनेका हौ :इन्दर बहादुर तामाङ

सिन्धुली: सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका स्थित वडा नम्बर ६ मा रहेको राँगेदोभान बासीको वर्षौं देखिको बैकल्पिक सडक नहुदा सास्ती खेप्दै आएका थिए । सर्लाहीको हरिवन नगरपालिकासँग जोड्ने उक्त वैकल्पिक सडक खोल्न यहाँका स्थानीयले वर्षौंदेखि माग गर्दै आएका थिए ।
उनीहरुले वडा, गाउँपालिकादेखि सरोकारवाला निकाय तथा यस क्षेत्रका जनप्रतिनिधिहरुसँग निरन्तर हारगुहार गरे । तर कतैबाट माग सुनुवाइ भएन । अन्ततः स्थानीय एकजुट भएर वैकल्पिक सडक खोल्न लागिपरे ।
बजेट नभएको भन्दै पन्छिएको गाउँपालिका उक्त सडक निर्माणका लागि मेसिन र इन्धन उपलब्ध गराउन भने तयार भयो ।
भूमेश्वर सामुदायिक वन उपभोक्ता समिति र स्थानीयबासीको अगुवाइमा सडक निर्माण सुरु भयो । नजिकको बजारसँग जोड्ने छोटो दूरीको सडक नहुँदा व्यहोर्दै आइरहेको सास्तीबाट छुटकारा पाउने आशाका साथ स्थानीयहरु उत्साहपूर्वक श्रमदानमा जुटे उनीहरुले कूल ६ किलोमिटर मध्ये करिब ३ किलोमिटर सडक खन्ने काम सम्पन्न भयो ।

सडक संजालको काम हुदै गर्दा सब डिभिजन वन कार्यालय क्यानेश्वरले मंसिर १७ गते पत्र पठाएर काम रोकिदियो । वन कार्यालयले सडक निर्माण कार्यविरुद्ध केही व्यक्तिको निवेदन परेको भन्दै काम रोक्न पत्र पठाएको थियो ।
सडक निर्माणको काम रोकिएपछि स्थानीयवासी फेरि निराश बनेका छन् । यस क्षेत्रका स्थानीयबासीले बेहोर्दै आएको सास्ती हटाउने लक्ष्यका साथ सुरु गरिएको सडक निर्माण रोक्ने कार्यप्रति उनीहरुले निन्दा व्यक्त गरेका छन् ।

त्यसो त राँगेदोभान सडक सञ्जालसँग नजोडिएको होइन । यहाँ भएको सडक हिँउदयाममा मात्रै आवातजावत गर्न मिल्ने छ । बर्खाको समयमा मरिणखोला र क्यानखोलाले गर्दा सडक यात्रामा समस्या खेप्नुपरेको स्थानीय बताउछन् । किनकि, पुल बनेको छैन ।
यो वैकल्पिक सडक राँगेदोभानसँगै ६ नम्बर वडाको ठूलो क्षेत्रका स्थानीयहरुका लागि अति आवश्यक देखिन्छ । उक्त वडाको राँगेचुरी, सानाकौवा, खर्कन्या, ठूलोकौवालगायतका बासिन्दाले अहिले वडा कार्यालय आवातजावत गर्न नै सास्ती खेप्नुपरेको छ । त्यसैले यस क्षेत्रका बासिन्दालाई वडा कार्यालय आवातजावत गर्नकै लागि पनि उक्त वैकल्पिक सडक खोल्नैपर्ने आवश्यकता परेको हो । अर्कोतर्फ, हरिहरपुरगढीलाई सर्लाहीको हरिवन नगरपालिकासँग जोड्ने मोरङे-कर्मैया सडक गएको बर्खामा आएको पहिरोका कारण जोखिमपूर्ण बनेको छ । उक्त सडकखण्डअन्तर्गतको मोरङेमा पहिरोले मानवीय क्षतिससमेत पुर्‍याएको थियो ।

गाउँपालिकाबासीलाई हरिवन सम्म सहज आवातजावतका लागि पनि राँगेदोभान-राँगेचुरी वैकल्पिक सडक खोल्नैपर्ने आवश्यकतालाई मध्यनजर गर्दै उक्त सडक खन्ने काम सुरु गरिएको स्थानीयको भनाइ छ ।

राँगेदोभान स्थित छविटोलका स्थानीय कमलबहादुर भोलन बर्खाको समय आवातजावतमा निकै सास्ती खेप्नुपरेको बताउनुहुन्छ । यहाँका उत्पादन बजारसम्म पुर्‍याउनदेखि बिरामीलाई अस्पताल पुर्‍याउनसमेत समस्या हुने गरेको छ । राँगेचुरीसम्म वैकल्पिक सडक निर्माण भए यो सास्तीबाट छुटकारा पाउने उहाँको आशा छ ।
“यहाँबाट ६ किलोमिटर मात्रै सडक खोल्दा सर्लाही जोडिन्छ । वैकल्पिक सडकको रुपमा खोल्दा ६ नम्बर वडामात्रै हैन २ नम्बरका स्थानीयलाई पनि सहज हुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘अहिले बर्खाको समयमा क्यानखोला र मरिणखोलाबाट ज्यान जोखिममा राखेर हिँड्नुपरेको छ ।’’
राँगेदोभान-राँगेचुरी सडक खोल्न अघिल्लोपटक स्थानीय तह चुनाव हुँदा नै आफूहरुले प्रस्ताव राखेको कमलबहादुर बताउनुहुन्छ । तर अघिल्लोपटक गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले बेवास्ता गरेको उहाँको गुनासो छ । ‘‘चुनावको समयमा यो प्रस्ताव राखेका थियौं । काम गर्दिन्छौं भन्दाभन्दै कार्यकाल सकियो । हाम्रो माग सुनुवाइ भएन,’’ उहाँले भन्नुभयो, ‘‘अहिले पनि बारम्बार गुनासो राख्दा सडक खन्नका लागि तेल र मेसिनमात्रै पालिकाबाट उपलब्ध गराउने सहमति भयो । त्यसपछि स्थानीयको अगुवाइमा सडक खन्न सुरु गरेका हौं ।”
कमलबहादुरले थप्नुभयो, ‘‘यहाँका जनताहरु अहिले पनि बर्खा लागेपछि सुत्केरी हुँदा झोलुङ्गो (डोली)मा बोकेर लैजानुपर्ने बाध्यतामा छ । बारम्बार वैकल्पिक सडकको माग गर्दा कतै सुनुवाइ भएन ।’’
भूमेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इन्दरबहादुर तामाङ उपभोक्ता समितिले निर्णय गरेर नै सडक निर्माण सुरु गरेको बताउनुहुन्छ । ‘‘वन कार्यालयको पत्र आएपछि सडक निर्माण रोकिएको । हामीले समितिको बैठक बसेको माइन्युटको फोटोकपीसहित स्पस्टीकरण पठायौँ,’’ उहाँले भन्नुभयो, ‘‘वनको रेञ्जर आएर सडक निर्माणमा रोक्का गरिदियो । सडक निर्माणका क्रममा ढलेका काठहरु संकलन गरेर बुझाउन भनेपछि हामीले काठ संकलन गरेर पठाउन थालेका छौं ।”
बल्लतल्ल निर्माण हुन लागेको सडक रोकिएपछि व्यावसायिकरुपमा उत्पादन गरेको वस्तु बजारीकरणका लागि सहज होला भन्ने स्थानीयको सपना पूरा नहुने अवस्था सिर्जना भएकोप्रति अध्यक्ष तामाङले चिन्ता व्यक्त गर्नुभयो । “यहाँका स्थानीय कृषिमै निर्भर छन् । उत्पादन गरेको वस्तु खोलाले गर्दा खेतमै कुहिन्छ,” उहाँले भन्नुभयो ।

वन उपभोक्ता समितिका सचिव छविलाल गोले सडकका कारण यहाँका स्थानीयले आधा वर्ष सास्तीमै बिताउनु परिरहेको बताउनुभयो । यही समस्याका कारण सर्लाहीको हरिवनसँग जोड्ने वैकल्पिक सडक खोल्न स्थानीय आफैं अगाडि बढेको उहाँ बताउनुहुन्छ । ‘‘धेरै पटक आग्रह गरेपछि बगाउँपालिकाले तेल र मेसिन उपलब्ध गराएको हो । त्यसबाहेक जनश्रमदानबाटै सडक छिचोल्ने गरी सुरु भएको हो,’’ सचिव गोलेले भन्नुभयो ।
अहिले यो सडकसँग जोडेर गाउँपालिका अध्यक्षमाथि झूठो आरोप लगाइएकोप्रति उहाँले आपत्ति जनाउनुभयो । ‘‘जनताको मागलाई सम्बोधन गर्दै गाउँपालिकाले तेल र मेसिन उपलब्ध गराएको हो । व्यक्तिगत स्वार्थ साँधेर गाउँपालिका अध्यक्षमाथि विभिन्न आरोप लगाउनु निन्दनीय छ,” सचिव गोलेले भन्नुभयो ।

उहाँले सडक खन्ने क्रममा ढलेका रुखबाट निस्केको काठ सुरक्षित रहेको बताउनुभयो । काठ तस्करी गर्ने नियत कसैको नभएको उहाँले स्पष्ट पार्नुभयो । ‘‘आएर निरीक्षण गर्दा पनि हुन्छ, बिक्री हुने खालको काठनै छैन । सबै बूढा र धोद्रा छन्,’’ सचिव गोलेले भन्नुभयो, ‘‘जस्तो अवस्थामा जति काठ निस्केको छ, सबै संकलन गरेर वन कार्यालयलाई बुझाउँदै छौं ।’’

गाउँपालिका अध्यक्ष वाइबा भन्नुहुन्छ- स्थानीय आफैंले सडक खनेको हो, झूटो आरोप निन्दनीय छ हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले स्थानीयको अगुवाइमा सुरु भएको सडक निर्माणको विषय जोडेर आफूमाथि झूटो आरोप लगाएको बताउनुभयो । केही व्यक्तिहरु मिलेर आफूलाई बदनाम गराउन लागिपरेको भन्नुहुँदै त्यस्तो कार्य निन्दनीय भएको उहाँले बताउनुभयो ।
“६ नम्बर वडाका स्थानीयहरुले मलाई बारम्बार हामीलाई बर्खाको समयमा समस्या भयो भनी गुनासो गरेका थिए । मैले गाउँपालिकासँग अहिले बजेट छैन, तेल र मेसिन मात्रै उपलब्ध गराउन सक्छु भनेको हो । जनताको मागलाई सम्बोधन गर्दा झूटो आरोप लगाए,” अध्यक्ष वाइबाले भन्नुभयो ।
उहाँले उक्त सडक निर्माणको विषयमा आफूविरुद्ध मुद्दा नपरेको पनि प्रस्ट पार्नुभयो । “मलाई मुद्दा परेको होइन । मसँग कुनै सरोकार नै नभएको कुरामा मुद्दा कसरी पर्छ ?,” उहाँले थप्नुभयो ।
सव डिभिजन वन कार्यालय क्यानेश्वरले गाउँपालिकालाई नभई भूमेश्वर सामुदायिक वन उपभोक्ता समितिसँग स्पष्टीकरण मागेको हो । समितिले पठाएको स्पष्टीकरणमा स्थानीयको अगुवाइमा सडक निर्माण गरिएकोले गाउँपालिका अध्यक्षसँग कुनै सम्बन्ध नै नभएको प्रस्ट पारिएको छ ।
अध्यक्ष वाइबाले केही तत्त्वहरुले राजनीतिक प्रतिशोध साँध्न लागिपरेको बताउनुभयो । उहाँले सम्बन्धित निकायलाई स्थलगत निरीक्षण गरेर त्यहाँ भएका गतिविधिको सत्यता बुझ्नसमेत आग्रह गर्नुभयो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: