अबिरल वर्षाका कारण आएको पहिरोले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं–३ स्थित एन्फा एकेडेमीका ६ छात्र सम्पर्कविहिन रहेका छन् ।वल्सलादेवी मावि (एन्फा एकेडेमी) मा अध्ययनरत ६ जना छात्र वेतत्ता भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र ठकुरीले जानकारी दिनुभयो । कुलेखानी जलाशयका कारण आएको बाढी विद्यालय डुबानमा पर्ने डरले सुरक्षित स्थानमा सार्दै गर्दा टेकर भन्ने स्थानमा अचानक आएको पहिरोमा ती छात्रहरु पुरिएको हुन सक्ने स्थानीय सन्तोष बाँनियाले जानकारी दिनुभयो ।
बेपत्ता विद्यार्थीहरुमा अनुप घलान मकवानपुर , आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुरका रहेका छन ।
मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालका अनुसार उक्त स्थानमा प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेपनि खोला तर्नुपर्ने हुँदा समस्या भइरहेको बताए । ‘हामीले लामो बाटो हिँडेर भएपनि त्यहाँ पुगिहाल्न भनेका छौं’ उनले भने । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी घटनास्थल तर्फ जाँदै गरेको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष श्रीकृष्ण पुडासैनीले जानकारी दिनुभयो ।
छात्रावासमा १३ वर्ष उमेर समूहका ४० जना बालकहरु गत जेठ महिनादेखि बन्द प्रशिक्षणमा थिए । ३४ जनालाई सुरक्षित स्थानमा सारिएको विद्यालयका शिक्षक सुदर्शन घिमिरेले जानकारी दिनुभयो ।