नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएसँगै निगमले मंगलबारदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ घटाएको हो ।
निगमले जारी गरेको विज्ञप्ति अनुसार हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ ।
निगम सञ्चालक समितिको साेमबारकाे बैठकबाट डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय भएको छ ।
निगमले सोमबार जारी गरेको विज्ञप्ति अनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आएको थियो । डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएकोमा पेट्रोलको भाउ कुनै घटबढ नभए पनि डिजेल तथा मट्टितेलको भाउ घटाउने निर्णय भएको छ ।
